अर्ग्यानिक कृषि र उद्योग प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले आज व्यवसायीसँग छलफल गर्दै

अर्ग्यानिक कृषि र उद्योग प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले आज व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा जैविक (अर्ग्यानिक) कृषि, प्रशोधन, व्यापार तथा उद्योग प्रवर्द्धनका विषयमा छलफल गर्न नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्।

छलफलमा नेपालमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, बजार विस्तार, निर्यात प्रवर्द्धन तथा यस क्षेत्रका उद्योग–व्यवसायले भोगिरहेका समस्या र समाधानका उपायबारे विचार–विमर्श हुने अपेक्षा गरिएको छ।

नेपाल अर्ग्यानिक संघ देशमा जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका लागि क्रियाशील संस्था हो।

प्रधानमन्त्री शाहले उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रको विकासलाई सरकारको प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर संवाद गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न पहल गर्दै आउनुभएको छ।

खबरपाटी
खबरपाटी