पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कल्पना सानु भट्टराई – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय-दुर्सी-फागोटी सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, विनियोजित बजेटबाट तोकिएको मापदण्डभन्दा कम निर्माण कार्य गरी सार्वजनिक रकम दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

विनियोजित बजेटको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन तथा तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेलविरुद्ध जनही आठ लाख आठ हजार ६८० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

त्यसैगरी तत्कालीन सबइन्जिनियर विनोदकुमार बम, सबइन्जिनियर नन्दबहादुर सिंह, बेल्केढुङ्गा-लेखनवाडा वडा कार्यालय-दुर्सी-फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम तथा सचिव कमलबहादुर बमविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यस्तै, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने तथा वडा नं. ९ का तत्कालीन वडाध्यक्ष टक्कबहादुर बमविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।

 

खबरपाटी
खबरपाटी