सिंहदरबारस्थित दिवा शिशु केन्द्रको मन्त्री बादीद्वारा स्थलगत अनुगमन, पूर्वाधार सुधारको प्रक्रिया अघि बढाइने

सिंहदरबारस्थित दिवा शिशु केन्द्रको मन्त्री बादीद्वारा स्थलगत अनुगमन, पूर्वाधार सुधारको प्रक्रिया अघि बढाइने

काठमाडौं - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको थियो।

अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित अधिकारीहरू तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवको सहभागिता रहेको थियो। सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गर्नुभएको थियो।

केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्न सकिने सम्भावनाबारे समेत स्थलगत अवलोकन गरिएको थियो। सो क्रममा उक्त भवनलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्ने वा केन्द्रको आवश्यकता अनुरूप पुनर्संरचना गर्ने विषयमा प्राविधिक अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको थियो।

मन्त्री सिता बादीले प्रारम्भिक बाल स्याहार तथा संरक्षणका सेवाको गुणस्तर अभिवृद्धिका लागि सुरक्षित, सुविधा सम्पन्न र बालमैत्री पूर्वाधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। उहाँले दिवा शिशु केन्द्रको दीर्घकालीन आवश्यकता, सेवा विस्तार तथा बालबालिकाको सर्वोत्तम हितलाई दृष्टिगत गरी पूर्वाधार विकासका सम्भावित विकल्पहरूमा आवश्यक तयारी अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।

अनुगमनका क्रममा भएका छलफलका आधारमा दिवा शिशु केन्द्रको पूर्वाधार सुधार तथा पुनर्संरचनासम्बन्धी विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वय र प्राविधिक अध्ययनको प्रक्रिया अगाडि बढाइने समझदारी भएको थियो।

खबरपाटी
खबरपाटी