अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

अर्जेन्टिनालाई  १–० ले गोलले पराजित गर्दै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।

सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ ।  अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले १०६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध १–० को अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि १–० गोलको जित हासिल गर्‍यो।

 खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको  थियो ।

स्पेनले फ्रान्सलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो । पूरै खेलभर बल नियन्त्रण, पास आदानप्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो ।

यो सँगै प्रशिक्षक लुइस दे ला फुएन्तेले दुई वर्षअघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन् ।

युवा र अनुभवी खेलाडीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन् । उपाधि जितेपछि प्रशिक्षक दे ला फुएन्तेले यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।

फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो । उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो । सन् २०३० को विश्वकप शुरु हुँदा मेस्सी ४२ वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ । 

खबरपाटी
खबरपाटी