पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी

पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी

काठमाडौं – पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन–पोखरा सडक खुला छ। तर मुग्लिन–काठमाडौं सडक भने अहिले बन्द छ। पहिरो पन्छाउने काम जारी छ भने सवारी साधनहरुलाई कुरिनटार क्षेत्रमा रोकिएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालका अनुसार धादिङतर्फको पहिरो पन्छाउन पनि अझै केही घण्टा समय लाग्ने अनुमान छ।

धादिङ प्रहरीले पहिरो पन्छाउन समय लाग्ने भएकाले सवारी साधनहरुलाई होल्ड गरिएको जनाएको छ। काठमाडौं–धादिङको सिमाना नागढुंगा र सिम्लेतर्फ सवारी साधनहरुलाई रोकिएको डिएसपी दाहालले बताए।

वर्षाका कारण रात्रिकालीन यात्रामा जोखिम हुने भनेर धादिङ प्रहरीले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएको थियो। तर पहिरो खसेकाले अहिलेसम्म पनि सवारी साधन चलाउन रोक लगाइएको छ। 

बीपी राजमार्गक्षेत्र भने खुला छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ३ थलीमा सडकमै आएको लेदो माटो हटाएसँगै सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।

खबरपाटी
खबरपाटी