बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध

बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार बिहान अन्दाजी ४ः३० बजे काभ्रेको रोशी गाउँपालिका–७ घुमाउने, रोशी–८ गिम्दी र रोशी–९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

त्यस्तै, कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार बिहान अन्दाजी ४ः३० बजे वाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो गई पूर्ण रूपमा अवरुद्ध भएको हो।

प्रहरीले बीपी राजमार्गमा यसअघिदेखि नै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाएको छ।

त्यस्तै कान्ति लोकपथमा पनि असार १८ देखि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको छ।

त्यस्तै प्रहरीले असार २३ देखि मेची राजमार्गको इलाम–९ राजदुवालीमा हिलोका कारण सवारीसाधन आवतजावतमा रोक लगाएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।

अर्घाखाँची सालझन्डी ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। असार २८ गते अन्दाजी ७ः०० बजे पाणिनी गाउँपालिका–२, ढुङ्ग्रेखोलामा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।

यता, सिन्धुपाल्चोकमा अरनिको रजमार्ग, बाग्लुङमा कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

खबरपाटी
खबरपाटी