काठमाडौँ – नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादनिष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मीन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको संवाद सार्थक र उपलब्धिमूलक हुन नसकेको बताएका हुन्। नेता विश्वकर्माकाअनुसार पार्टीभित्र एकता कायम गर्न पटक-पटक छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न नसकेको हो। उनले संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा नबसी नयाँ ढङ्गले अगाडि बढ्न राष्ट्रिय भेलाको विकल्प रोजेको प्रतिक्रिया दिए।
‘आजसम्म ती छलफल सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन्। त्यसैले एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा हामी पुगेका छौँ । अब केवल प्रतीक्षामा नबसी नयाँ कार्यदिशातर्फ अघि बढ्न राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेका छौँ’, उनले भने।
इतर पक्षले आगामी साउन ६ गते पर्ने वीपी स्मृति दिवसलाई विगतमा झैँ निरन्तरता दिँदै मनाउने निर्णय गरेको छ । हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको यो समूहले आफ्ना एजेण्डालाई थप सशक्त रूपमा अगाडि बढाउने बताएको छ।
‘बीपी स्मृति दिवस भने विगतझैँ निरन्तर मनाइनेछ। हाल हामी सम्पर्क कार्यालयबाट गतिविधि सञ्चालन गरिरहेका छौँ र यसलाई निरन्तरता दिनेछौँ’ उनले भने, तर सानेपास्थित पार्टी कार्यालय नेतृत्वबाट आवश्यक लचकता, धैर्य सहनशीलता र सकारात्मक पहल नदेखिएकै कारण एकताको प्रक्रिया कमजोर बनेको हाम्रो निष्कर्ष छ।’