विश्वकप फुटबल-२०२६ : पहिलो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र स्पेनबिच हुँदै

विश्वकप फुटबल-२०२६ : पहिलो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र स्पेनबिच हुँदै

काठमाडौं – विश्वकप फुटबल-२०२६ मा पहिलो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र स्पेनबिच हुँदै छ। 

यी दुई टिम यस विश्वकपमा सर्वश्रेष्ठ टिम हुन्। त्यसैले युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्सबिचको खेललाई फाइनलअघिको फाइनल भनिएको छ।

कप्तान किलियन एम्बाप्पेको प्रेरणामा रहेको फ्रान्स यस विश्वकप कै सबैभन्दा उत्कृष्ट फरवार्डपङ्क्ति भएको टिम हो। जसमा एम्बाप्पेसहित बालन डी ओर विजेता ओसमान डेम्बेले, बायर्न म्युनिखका स्टार माइकल ओलिस, पेरिस सेन्ट जर्मनका ब्राडली बारकोला र डिजाइरी डोउ जस्ता स्ट्राइकर छन्। 

एम्बाप्पेले आठ गोल र तीन 'एसिस्ट' र डेम्बेलेले पाँच गोल गरिसकेका छन्। ओलिसको सिर्जनात्मक खेल पनि जारी छ। ओलिसको नाममा अहिलेसम्म पाँच एसिस्ट रहेको छ तर यी खेलाडीलाई पनि स्पेनको डिफेन्स तोड्न सहज हुने छैन। यस विश्वकपमा स्पेन प्रिक्वाटरफाइनलसम्म गोल नबेहोरी लगातार छ खेल 'क्लिनसिट' को कीर्तिमान बनाएको टिम हो। यस क्रममा स्पेनका गोलरक्षक उनाई सिमन्सले ६५० मिनेटपछि विश्वकपमा गोल नबेहोरेर कीर्तिमान पनि राख्नुभयो। क्वाटरफाइनलमा बेल्जियमका फरवार्ड चार्ल्स डी केटेलारेले सानदार हेडरले गोल गरेपछि मात्र सिमन्सको कीर्तिमान थप लम्बिन पाएन।

यस विश्वकपमा फ्रान्सको जस्तो आक्रामक स्वभाव स्पेनले देखाएको छैन तर लुइस डी ला फुएन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दै छ। जुन शैलीमा खेलेर स्पेन सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो।

डी ला फुएन्टेकै प्रशिक्षकत्वमा स्पेनले सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन कप जितेको थियो। पछिल्लो वर्ष पनि स्पेनले नेसन्स लिगको फाइनल खेलेको थियो। स्पेन एकजुट भएर फुटबल खेल्नेमा विश्वास गर्ने टिम हो।

यस टिममा रोड्री, पेड्री र फाबियन रुइज जस्ता विश्वस्तरीय मिडफिल्डर छन्। सो मिडफिल्डलाई अहिलेका सनसनी 'टिनेज' विङ्गर लामिने यमालको साथ छ। स्पेनका फरवार्डमध्ये अनपेक्षित रूपमा मिकेल आयरजाबल चार गोल गरेर चम्किएका छन्।

यद्यपि पछिल्ला दुई खेलमा उनले गोल गर्न सकेका छैनन्। त्यसैले स्पेनी फरवार्डमा चर्चा वैकल्पिक स्ट्राइकर मिकेल मेरिनोको छ। मेरिनोले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर प्रिक्वाटरफाइनलमा पोर्चुगल र क्वाटरफाइनलमा बेल्जियमविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए।

अब यी खेलाडीसमक्ष अहिलेसम्म खासै परीक्षण हुन नपाएको फ्रान्सका डिफेन्सलाई दबाब दिने चुनौती छ तर फ्रान्सविरुद्धको हालका प्रदर्शनले स्पेनलाई उत्साहित भने पारेको छ। गत वर्ष युइएफए नेसन्स लिगमा स्पेनले फ्रान्सलाई ५-४ ले हराएको थियो। यसै गरी युरो-२०२४ जित्ने क्रममा पनि स्पेनले फ्रान्सको चुनौती सेमिफाइनलमा २-१ ले समाप्त पारेको थियो।

यद्यपि यस विश्वकपमा सबैभन्दा प्रभावशाली टिमको रूपमा प्रस्तुत भएको फ्रान्सले यस विश्वकपमा १६ गोल गरेर मात्र दुई गोल बेहोरेको छ। आफ्नो 'फ्रिफ्लोड' खेलले अहिलेसम्म सबै खेलमा सहज जित प्राप्त गरेको फ्रान्सेली टिम यस विश्वकपको सबैभन्दा सन्तुलित टिम पनि हो। जसको 'बेन्च' शक्ति पनि उत्तिकै बलियो छ।

१९ वर्षीय यमालले पनि फ्रान्स उपाधिको प्रमुख दाबेदार भए पनि आफ्नो टिम नडराएको बताएका छन्। ‘स्पेनलाई डराउनु जरुरी नै छैन । हामी दुई विश्वकै उत्कृष्ट टिम हौँ, हेरौँ के हुन्छ तर हामी चिन्तित छैनौँ। सो खेलमा दुई सम्भावना मात्र छ। कि उनीहरू लगातार तेस्रो पटक विश्वकपको फाइनलमा खेल्ने छन् वा हामी लगातार तेस्रो पटक फ्रान्सलाई हराउने छौँ’ यमालले भने ।

विश्वकपको इतिहासमा फ्रान्स लगातार तीन संस्करणमा फाइनल खेल्ने मात्र तेस्रो टिम बन्ने दाउमा हुने छ। जर्मनीले (१९८२-९० र २००२-१४) तथा ब्राजिलले (१९९४, १९९८, २००२) मा लगातार तीन विश्वकप फाइनल खेलेका थिए।

एम्बाप्पे फ्रान्स सर्वश्रेष्ठ हो भनेर देखाउन बाँकी नै रहेको बताए। ‘हाम्रो क्षमता हामीलाई थाहा छ तर अजयको ट्याग लाग्दैमा खेल जितिँदैन । हामी मैदानमा उच्च मनोबलले जान्छौँ तर खेल जित्न मैदानमा क्षमताको सही सदुपयोग गर्नु पर्छ,’ एम्बाप्पेले स्पेनसँगको खेलअघि भने।

यस विश्वकपमा दुवै टिमका केही खेलाडी व्यक्तिगत पुरस्कारको होडमा पनि सामेल छन्। यमाल यस विश्वकपमा युवा प्लेअर अफ दी टुर्नामेन्टका दाबेदार हुन्। यसै गरी स्पेनका गोलरक्षक उनाई सिमन्ले गोल्डेन ग्लोब्स जित्ने सम्भावना धेरै छ।

फ्रान्सका किलियन एम्बाप्पेको नजर गोल्डेन बुट र गोल्डेन बल दुवैमा छ। यसै गरी डेम्बेले पनि गोल्डेन बलका दाबेदार हुन्। फ्रान्स र स्पेन फुटबलमा परम्परागत प्रतिद्वन्द्वी हुन्। यी दुई टिमबिच अहिलेसम्म ३८ खेल भएका छन्।

जसमध्ये स्पेनले १८ र फ्रान्सले १३ खेल जितेका छन्। सात खेल बराबरीमा सकिएको थियो । विश्वकपमा यी दुई टिम एक पटक मात्र आमनेसामने भएका छन्। सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले स्पेनलाई ३-१ ले पराजित गरेको थियो।

खबरपाटी
खबरपाटी