काठमाडौँ । गएको बिहिबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका र उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट निकालेर महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको चिकित्सा क्याम्पसको फरेन्सीक विभागमा पुर्याइएको छ।
तत्कालनै परिवारले शव बुझ्न नमानेको र वीर अस्पतालमा लामो समय सम्म शव राख्ने सुविधा सम्पन्न स्थान नभएपछि प्रहरीको सहयोगमा फरेन्सीक विभागको शव राख्ने ठाउँमा पुर्याइएको हो। राति १० बजे प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालय सदस्यहरूको उपस्थिति र काठमाडौँका सिडिओको रोहवरमा शव टिचिङ अस्पतालमा लगिएको थियो।
वीर अस्पताल स्रोतले भन्यो ु वीरमा फ्रिज गरेर शव राख्ने सुविधा छैन, जसले गर्दा लामो समय शव राख्दा विग्रन सक्छ। त्यसैले उता सारिएको होु।
मृतक नेपालीका परिवार अझै पनि उनको शव बुझ्न मानेका छैनन् भने प्रधानमन्त्री शाहको सचिवालयले शव बुझ्न दबाब दिइरहेको छ। मृतक नेपालीको परिवारले सरकारी पक्षसँग परिवारको शिक्षा, स्वास्थ्य, भरणपोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग राखिरहेको छ।