काठमाण्डौ — सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित, पारदर्शी र जवाफदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ ।
अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति, सेवाग्राहीसँगको व्यवहार, गोपनीयता, पोशाक, उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कडाइ गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ सार्वजनिक गरेको छ । मन्त्रालयले केही दिनअघि यो आचारसंहिता कार्यान्वयनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
सरकारको यो कदमलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा पनि हेरिएको छ । सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका कार्यसूचीमा कर्मचारीतन्त्रलाई निष्पक्ष, व्यावसायिक र अनुशासित बनाउने तथा कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो ।
नयाँ आचारसंहिताहरू त्यसैको कार्यान्वयनका रूपमा आएको सरकारी दाबी छ । पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालको प्रयोग, सेवा प्रवाहमा ढिलासुस्ती तथा अनुशासनसम्बन्धी गुनासो बढिरहेका बेला सरकारले आचारसंहितामार्फत कडाइ बढाएको हो ।
केही समयअघि पालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि आचारसंहिताको ल्याएको थियो भने अहिले समग्र प्रशासनिक क्षेत्रका कर्मचारीलाई कडाइ गर्ने तयारी सरकारले गरेको छ ।