बाढीपहिरोले देशका विभिन्न ठाउँका राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले देशका विभिन्न ठाउँका राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – देशका विभिन्न ठाउँका राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीपहिरोले ती राजमार्ग अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार, भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ । बाढीका कारण उक्त लोकमार्ग अवरुद्ध भएको थियो । त्यस्तै, इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरोध छ । वर्षाका कारण मंगलबारदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

यता, बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित बाढीको जोखिमका कारण त्यस सडकखण्डमा सोमबारदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । ललितपुरको वाग्मती गाउँपालिका–३, पाङदुरस्थित कान्ति लोकपथ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । 

पहिरोका कारण म्याग्दीस्थित बेनी जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६, रिजेगार्डस्थित भेरी करिडोर असार १७ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

खबरपाटी
खबरपाटी