फिफा विश्वकप २०२६ को क्वाटरफाइनलको समीकरण पूरा

फिफा विश्वकप २०२६ को क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं -  फिफा विश्वकप २०२६ को क्वाटरफाइनलको समीकरण पूरा भएको छ। 

प्रतियोगिताको बलियो दाबेदार अर्जेन्टिना र स्विट्जरल्यान्ड आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। अब सेमिफाइनल प्रवेशका लागि लियोनेल मेसीको अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन्।

 इजिप्टविरुद्ध अर्जेन्टिनाको ऐतिहासिक पूनरागमन

एटलान्टा स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले इजिप्टमाथि ३–२ को नाटकीय जित दर्ता गर्‍यो।

खेलको १५औँ मिनेटमा यासेर इब्राहिम र ६७औँ मिनेटमा मोस्ताफा जिकोले गोल गरेपछि इजिप्टले २–० को अप्रत्याशित अग्रता लिँदै विश्वकप इतिहासकै ठूलो उलटफेरको संकेत गरेको थियो। पहिलो हाफमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको पेनाल्टी प्रहार इजिप्टका गोलरक्षक मोस्ताफा शौबिरले रोकेका थिए।

तर, खेलको अन्तिम १३ मिनेटमा अर्जेन्टिनाले जादुमयी पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरो र ८४औँ मिनेटमा लियोनेल मेसीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

 खेलको इन्जुरी समय (९०+२ मिनेट) मा इन्जो फर्नान्डेजले गरेको विजयी गोल विश्वकप इतिहासकै ३,०००औँ गोल बन्न पुग्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेसी 'प्लेयर अफ दि म्याच' चुनिए।

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्डको इतिहास 

भ्यानकुभरमा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्विट्जरल्यान्ड ७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। निर्धारित र अतिरिक्त समयको खेल ०–० को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो।

स्विस टोलीका प्रमुख युवा स्टार जोहान मन्जाम्बी चोटका कारण खेलमा अनुपस्थित हुँदा पहिलो हाफमा कोलम्बियाले दबाब बनाएको थियो। तर, स्विस गोलरक्षक ग्रेगोर कोबेलले उत्कृष्ट बचाउहरू गर्दै टोलीको संकट टारे। 

पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई प्रहार मिस भएपछि स्विट्जरल्यान्डका रुबेन भार्गासले निर्णायक गोल गर्दै टोलीलाई इतिहासिक जित दिलाए। उत्कृष्ट गोलरक्षण गरेका कोबेल 'प्लेयर अफ दि म्याच' बने।

यी दुई टोलीबीचको रोमाञ्चक क्वाटरफाइनल खेल जुलाई १० र ११ मा हुनेछ। विश्वकपको फाइनल खेल भने जुलाई २० मा हुने तालिका रहेको छ।

खबरपाटी
खबरपाटी