कोलम्बियालाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

कोलम्बियालाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं - क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्विजरल्याण्ड सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
अत्यन्तै तनावपूर्ण बनेको पेनाल्टी सुटआउटमा स्विजरल्याण्डका रुबेन भर्गासले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अन्तिम आठमा पु¥याए। स्विजरल्याण्डका लागि सेड्रिक इटेन, जाकी अम्दौनी र ग्रानिट झाकाले गोल गरे पनि म्यानुएल अकान्जीको प्रहार भने गोलबार माथिबाट बाहिरिएको थियो।
यता कोलम्बियाका लागि लुइस डियाज र जुआन क्विन्टेरोले गोल गरे पनि डेभिन्सन सान्चेजको प्रहार असफल भयो भने कुचो हर्नान्डेजको प्रहारलाई स्विजरल्याण्डका गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गरे। कोबेलको यो बचाउ नै खेलको निर्णायक मोड सावित भयो।
खेल अवधिभर कोलम्बियाले गोलका केही राम्रा अवसरहरू सिर्जना गरे पनि स्विजरल्याण्डको बलियो रक्षापङ्क्तिलाई तोड्न सकेन। एन्ड्रोस टाउनसेन्डका अनुसार स्विजरल्याण्डले खेलभर रक्षात्मक रणनीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै कोलम्बियाका सिर्जनशील खेलाडीहरूलाई खुलेर खेल्न दिएन।
हारसँगै कोलम्बियाली खेलाडीहरू मैदानमै भावुक देखिएका थिए। स्टार खेलाडी लुइस डियाज आँसु लुकाउन जर्सीले मुख छोपिरहेका देखिन्थे भने अनुभवी खेलाडी जेम्स रोड्रिगेजको विश्वकप यात्रा सम्भवतः निराशाजनक अन्त्य भएको छ।
ऐतिहासिक जित दर्ता गरेको स्विजरल्याण्ड सन् १९५४ पछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। अब स्विजरल्याण्डले सेमिफाइनल प्रवेशका लागि आगामी आइतबार अर्जेन्टिनाको सामना गर्नेछ।

खबरपाटी
खबरपाटी