सिंहदरबारमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि ह्वीलचियरसहित सहजकर्ता सेवा सुरु

सिंहदरबारमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि ह्वीलचियरसहित सहजकर्ता सेवा सुरु

काठमाडौं - सिंहदरबारभित्र रहेका सरकारी कार्यालयहरूमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र त्यहाँ कार्यरत कर्मचारीको सहज आवागमन सुनिश्चित गर्न ह्वीलचियर तथा सहजकर्ताको व्यवस्था सुरु गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबारदेखि यो सेवाको औपचारिक शुभारम्भ गरेको हो। मुख्यसचिव सुमनराज अर्यालले सेवाको उद्घाटन गर्दै शारीरिक अवस्थाका कारण कुनै पनि सेवाग्राही वा कर्मचारीले सार्वजनिक सेवा प्राप्त गर्न असहजता भोग्न नपर्ने गरी सरकारले आवश्यक व्यवस्था मिलाएको बताउनुभयो।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन तथा प्रचलित कानुनले सुनिश्चित गरेका नागरिक र श्रमिक अधिकारको पूर्ण कार्यान्वयन गर्दै सरकारले आफ्नो कानुनी तथा नैतिक दायित्व पूरा गर्न यो पहल गरेको स्पष्ट पार्नुभयो।

मुख्यसचिव अर्यालका अनुसार सिंहदरबारका अधिकांश सरकारी कार्यालयहरू अपाङ्गमैत्री संरचनामा रूपान्तरण भइसकेका छन् भने बाँकी कार्यालयहरूमा पनि आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ। विगतमा अपाङ्गता भएका व्यक्ति, अशक्त कर्मचारी तथा सेवाग्राहीले भोग्दै आएका कठिनाइ क्रमशः अन्त्य गर्दै लगिने उहाँको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्‍याउन प्रत्येक ह्वीलचियरसँग एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्।

सहजकर्ताले आवश्यक सहयोग उपलब्ध गराउँदै सेवाग्राहीलाई सम्बन्धित सेवा केन्द्रसम्म पुर्‍याउने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो।

सरकारले यो व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, आगामी दिनमा यस सेवालाई देशभरका अन्य सरकारी निकायहरूमा समेत विस्तार गर्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

खबरपाटी
खबरपाटी