काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष माननीय सिता बादीले आज राष्ट्रिय बाल अधिकार परिषद्को अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा माननीय मन्त्री सिता बादीले परिषद्को समग्र कार्यसम्पादन, सेवा प्रवाहको अवस्था, बाल अधिकार संरक्षणसँग सम्बन्धित गतिविधि, उजुरी व्यवस्थापन, समन्वय प्रणाली तथा संस्थागत अवस्थाबारे जानकारी लिनुभयो। उहाँले परिषद्का कर्मचारीहरूसँग छलफल गर्दै बालबालिकाको अधिकार संरक्षण र सेवाग्राहीलाई प्रदान गरिने सेवामा थप प्रभावकारिता ल्याउन आवश्यक निर्देशन दिनुभयो।
माननीय मन्त्री सिता बादीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, बाल अधिकार संरक्षणका लागि सम्बन्धित निकायबीचको समन्वय, जवाफदेहिता र उत्तरदायित्वलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो।
राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्षसमेत रहनुभएकी माननीय मन्त्री सिता बादीले सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्ने र बाल अधिकारसँग सम्बन्धित समस्या तथा गुनासाको प्रत्यक्ष सम्बोधन गर्ने उद्देश्यले अबदेखि हप्ताको एक दिन राष्ट्रिय बाल अधिकार परिषद्मै उपस्थित भई सेवा प्रवाहको अवस्था अनुगमन गर्ने, सेवाग्राही तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने र आवश्यक सहजीकरण गर्ने व्यवस्था लागू गरिने घोषणा गर्नुभयो।
माननीय मन्त्री सिता बादीको यो पहलले राष्ट्रिय बाल अधिकार परिषद्को सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै बालबालिका तथा सरोकारवालाको पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नागरिकमैत्री, पारदर्शी र परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रत्यक्ष अनुगमन तथा सेवामूलक अभ्यासलाई निरन्तरता दिने जनाएको छ।