मिडिया शिक्षा र प्रसारण क्षेत्रबीच नयाँ पुल : सेफर्ड कलेज र BAN बीच ऐतिहासिक साझेदारी

विद्यार्थीलाई सिधै स्टुडियोसम्म पुर्‍याउने कदम, इन्टर्नशिपदेखि करियरसम्मको बाटो ...

मिडिया शिक्षा र प्रसारण क्षेत्रबीच नयाँ पुल : सेफर्ड कलेज र BAN बीच ऐतिहासिक साझेदारी

काठमाडौं । नेपालको मिडिया शिक्षा क्षेत्रमा एक नयाँ अध्याय थपिएको छ। सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी (SCMT) र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (BAN) बीच आज विशेष समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सम्झौताले शैक्षिक संस्था र प्रसारण उद्योगबीचको दूरी घटाई विद्यार्थीहरूलाई पढाइकै क्रममा उद्योगसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ।

सम्झौतामा सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकी र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष इन्जिनियर कुमार भट्टराईले संस्थाहरूको तर्फबाट हस्ताक्षर गरेका हुन्।

कलेजका अनुसार यो सहकार्यले मिडिया टेक्नोलोजीमा स्नातक (BMT), मिडिया टेक्नोलोजीमा स्नातकोत्तर (MMT) र इन्फर्मेशन टेक्नोलोजीमा स्नातक (BIT) कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ। यसअन्तर्गत विद्यार्थीहरूले पाउने अवसरहरूमा समावेश छन्:

  • नेपालका अग्रणी टेलिभिजन, रेडियो र डिजिटल मिडिया संस्थाहरूमा इन्टर्नशिप
  • आधुनिक प्रसारण प्रविधिमा आधारित व्यावहारिक तालिम
  • उद्योग विज्ञहरूद्वारा सञ्चालित मास्टरक्लास तथा कार्यशाला
  • करियर परामर्श र प्लेसमेन्ट सहयोग
  • व्यावसायिक सञ्जाल विस्तारका थप अवसर

साथै, उद्योगको आवश्यकता अनुरूप पाठ्यक्रम परिमार्जन, संयुक्त अनुसन्धान, नवप्रवर्तनमा आधारित परियोजना, छात्रवृत्ति र प्रमाणपत्र कार्यक्रमहरू पनि यस साझेदारीअन्तर्गत सञ्चालन गरिने कलेजले जनाएको छ।

सम्झौतापछि कलेजका प्रतिनिधिले शैक्षिक ज्ञानलाई उद्योगको व्यावहारिक अनुभवसँग जोड्दै विद्यार्थीलाई प्रतिस्पर्धी र दक्ष जनशक्ति बनाउने उद्देश्यले यो सहकार्य गरिएको बताए। कलेजका अनुसार यसले नेपालको सञ्चार तथा प्रविधि क्षेत्रमा दक्ष, सिर्जनशील र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौंको शाान्तीनगरस्थित सेफर्ड कलेज सन् २००२ मा स्थापना भएको हो, जसलाई नेपालको पहिलो मिडिया टेक्नोलोजी शिक्षा केन्द्रको रूपमा लिइन्छ। कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मिडिया टेक्नोलोजीमा स्नातक (BMT), सूचना प्रविधिमा स्नातक (BIT) र मिडिया टेक्नोलोजीमा स्नातकोत्तर (MMT) कार्यक्रम सञ्चालन गर्दै आएको छ। बढ्दो मिडिया माग अनुरूप कलेजले तीन वर्षे स्नातक कार्यक्रमलाई चार वर्षे कार्यक्रममा विस्तार गरेको थियो, जसले विद्यार्थीहरूलाई विदेशमा समेत मान्यता पाउन सहज बनाएको छ। 

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल सन् २००३ मा स्थापना भएको, नेपालका निजी स्वामित्वका सबै एफएम रेडियो स्टेसनहरूको छाता संगठन हो। संस्था विसं २०६० साल माघ २ गते पोखरा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐनको दफा ४ बमोजिम दर्ता भएको हो र हाल यसको मुख्य कार्यालय काठमाडौंमा रहेको छ।

यो एक गैर-नाफामूलक र कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नभएको संगठन हो, जसमा २४६ भन्दा बढी सदस्य रेडियो स्टेसनहरू आबद्ध छन्। स्थापनाकालदेखि नै BAN ले आफ्ना सदस्यहरूको हितका लागि वकालत गर्दै आएको छ

खबरपाटी
खबरपाटी