कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत

कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत

काठमाण्डौ —कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँङ्बागेतडाबाट कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्तिमार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो । चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुन् ।

सिर्जना कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ । दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले सनाखत गरिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकका अनुसार अरु ४ जनासहित गाडीको खोजी भैरहेको छ । सनाखत भएका ५ जनाबाहेक अरु यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन । १०५५ नम्बरको मिनिबस अस्ति बिहीवार कर्णाली नदीमा खसेको थियो ।

यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कँडेलले हिजो कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो ।

छलफलमा उहाँले अहिलेसम्म सुरक्षा निकायहरुबाट खोजी तथा उद्वारमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकताअनुसार हेलिकप्टरबाट परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न निर्देशन दिनुभयो ।छलफलमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ बाहिनी मुख्यायलय सुर्खेतका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिँडिसकेको जानकारी दिनुभयो ।

खबरपाटी
खबरपाटी