प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

फिफा विश्वकप फुटबलमा निक्कै प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केब भर्डे अर्जेन्टिनासँग ३–२ गोलले पराजित भयो ।

खेलको निर्धारित समय एक/एकको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो । निर्धारित समयको पहिलो हाफमा २९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन ।

खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो । उसका रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गरे । त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जीत निकाल्दै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको ९२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसको केही बेरमै १०३ औं मिनेटमा सिड्नी लोपेज काब्रालले गोल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पुर्याए । तर १११ औं मिनेटमा केप भर्डेका डिनेयको उपहार गोलमा अर्जेन्टिनाले ३–२ को अग्रता लियो ।

लियोनल मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेडिङ प्रहार गर्दा डिनेयलाई लागेर गोल हुन पुगेको थियो । पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केब भर्डेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो ।

यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले आजको एकसहित ७ गोल गरिसकेका छन् । अब अर्जेन्टिनाले अन्तिम–१६ मा इजिप्टसँग खेल्नेछ ।

विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान सवा ७ बजे कोलम्बिया र घाना खेल्दैछन् । यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा हुँदैछ ।

यसअघि गएराति भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

खबरपाटी
खबरपाटी