काठमाडौं - मिकेल ओयार्जाबालको उत्कृष्ट दुई गोल र पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
लस एन्जलसमा भएको खेलमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित दर्ता गर्यो।
सन् २०१० को विश्वकप उपाधि जितेयता स्पेनले विश्वकपको नकआउट चरणमा जित हात पारेको यो पहिलो पटक हो।
अब स्पेनले आगामी जुलाई ६ मा डलासमा हुने अन्तिम १६ को खेलमा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो मिनेटमै लामिन यामालले प्रहार गर्दै स्पेनको आक्रमणको लय तय गरेका थिए।
खेलको सुरुवाती समयमा मार्क कुकुरेलाले कर्नरमार्फत गोल गरे पनि अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरमाथि फल भएको भन्दै त्यसलाई मान्यता दिइएन।
बायाँ भिडबाट कुकुरेलाले मिलाइदिएको उत्कृष्ट पासलाई बास्क फरवार्ड ओयार्जाबालले ३६औँ मिनेटमा गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। जारी विश्वकपमा उनको यो तेस्रो गोल हो। दोस्रो हाफमा एलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडिङमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। राष्ट्रिय टोलीका लागि पोरोको यो पहिलो गोल हो। उनको यो गोल ६६औँ मिनेटमा भएको थियो।
खेलको निर्धारित समय सकिनै लाग्दा कुकुरेलाकै क्रसमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे।
अस्ट्रियाका लागि मार्सेल साबिट्जरका केही पासहरूमा माइकल ग्रेगोरिट्स र वैकल्पिक खेलाडी सासा कालाजडिचले अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।
गोलकिपर उनाई सिमोनको ऐतिहासिक कीर्तिमान
यस खेलसँगै स्पेनका गोलकिपर उनाई सिमोनले विश्वकपमा एउटा ऐतिहासिक कीर्तिमान आफ्नो नाममा गरेका छन्।
उनाई सिमोनले विश्वकपमा लगातार ५१९ मिनेटसम्म गोल नखाई इटालीका महान् गोलकिपर वाल्टर जेङ्गाको सन् १९९० को ५१७ मिनेटको ऐतिहासिक कीर्तिमान तोडेका छन्।
यो सिमोनको विश्वकपमा लगातार पाँचौँ ुक्लिन सिटु (गोल नखाएको खेल) समेत हो, जुन सन् १९९० मा जेङ्गाले राखेको कीर्तिमान बराबर हो।
सिमोनले सन् २०२२ को डिसेम्बरमा मोरक्कोविरुद्धको खेलमा गोलरहीत बराबरी भएको थियो। त्यहाँदेखि हालसम्म विश्वकपमा गोल खाएका छैनन्।