स्वास्थ्य सेवाका कर्मचारीले अब कार्यालय समयमा फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउन नपाउने

स्वास्थ्य सेवाका कर्मचारीले अब कार्यालय समयमा फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउन नपाउने

काठमाडौँ – स्वास्थ्य सेवाका कर्मचारीले अब कार्यालय समयमा फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका स्वास्थ्यकर्मी/कर्मचारीको लागि जारी गरेको आचारसंहितामा कार्यालय समयमा मोबाइल र कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग नपाइने उल्लेख छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत असार १० गते स्वीकृत गरेको आचारसंहिता आज बिहीबार मन्त्रालयले सार्वजनिक गरेको हो।

यो आचारसंहिता स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै संघीय/प्रदेश अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको लागि पनि भएको बताइएको छ। 

कर्मचारीहरूले कार्यस्थल बाहिर सेवाग्राही वा व्यवसायीहरूसँग व्यक्तिगत लाभ वा स्वार्थका लागि भेटघाट गर्न नहुने नियम बनाइएको छ। कार्यालयबाट हुने खरिद प्रक्रियामा आफ्ना नजिकका नातेदार वा स्वार्थ जोडिएका व्यक्ति वा फर्मलाई संलग्न गराउन नपाउने समेत जनाएको छ। 

यस्तै अस्पतालको सम्पत्ति, औषधी, उपकरण तथा अन्य स्रोत–साधनको संरक्षण गर्नुपर्ने, संक्रमण नियन्त्रण, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौन दुर्व्यवहार तथा उत्पीडन गर्न नहुने उल्लेख छ।

आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने पनि आचारसंहितामा उल्लेख छ।

बिरामी, कुरुवा तथा सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्ने, जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। 

खबरपाटी
खबरपाटी