काठमाडौँ – १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण मागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तथ्याङ्कमा प्राविधिक त्रुटि भएको प्रतिक्रिया दिएको छ।
रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको उल्लेख थियो। बालबालिकालाई पार्टी सदस्य बनाउनु प्रचलित कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले गत रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी स्पष्टीकरण माग गरेको थियो।
महामन्त्री विपिन आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरकालाई पार्टी सदस्य बनाउने नीति र अभ्यास नरहेको स्पष्ट पारेको छ।