काठमाडौँ – गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य गुणस्तर र सरसफाइ प्रभावकारी बनाउन निर्देशन जारी गरेको छ।
मन्त्रालयले बजार अनुगमन थप सशक्त बनाउँदै गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री गर्ने व्यवसायीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार अब नियमित, सघन तथा आकस्मिक बजार अनुगमन गरिनेछ। अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाइने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी कानुन उल्लंघन गर्नेलाई कडा कारबाही गरिनेछ।
यस्तै गृहले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहजरूपमा गुनासो दर्ता गर्न सक्ने गरी गुनासो सुनुवाइ संयन्त्र, हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिएको छ। प्राप्त हुने हरेक गुनासोलाई उच्च प्राथमिकतामा राखी शीघ्र समाधान गर्ने मन्त्रालयले बताएको छ।