पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरपालिकालाई

पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरपालिकालाई ८ विकेटले पराजित गर्दै काठमाडौँ च्याम्पियन बनेको हो । 

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौँले पोखरा महानगरपालिकालाई १२२ रनमै अलआउट गर्‍यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौँका ओपनर रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाउनुभयो । उहाँलाई रिङ्जिन लामाले अविजित ५० रन बनाएर साथ दिएपछि काठमाडौँले लक्ष्य केवल १२.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम गर्‍यो । 

खेलको समापन समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विजेता टोलीलाई नगद ११ लाख रुपियाँसहित ट्रफी र उपविजेता टोलीलाई नगद ५ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । प्लेयर अफ द फाइनल काठमाडौँका रित गौतमलाई सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले पुरस्कृत गर्नुभयो । 
प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ पवन सर्राफ उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर रित गौत्तमलाई जनही नगद २१ हजार रुपियाँसहित पुरस्कृत गरियो । यस्तै अर्जुन कुमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा नगद ५१ हजार रुपियाँसहित पुरस्कृत गरियो । यी पुुरस्कारहरु चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. २९ का अध्यक्ष कुश ढकालले प्रदान गर्नुभएको थियो । 

त्यस अवसरमा क्रिकेट खेलको विकास, प्रवर्धन र सुदृढीकरणमा योगदान दिए वापत उपेन्द्र भट्टराई र विजयकुमार शर्मालाई जनही ५१ हजार रुपियाँसहित सम्मानित गरियो । 

समापन अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खुला र उदार सोचका  पूर्व प्रमुख स्वर्गीय सिंहको व्यक्तित्व स्मृति हुने टुर्नामेन्टले, खेलको विकास र स्थानीय स्तरबाट खेलाडीको उत्पादनमा योगदान हुने अपेक्षा राखेको बताउनुभयो । ‘वागमती प्रदेश क्रिकेट संघको व्यवस्थापनमा यस वर्षको टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ । आगामी वर्ष हामी दायरा र क्षेत्र बढाएर राष्ट्रिय टुर्नामेन्टका रुपमा सञ्चालन गर्नेछौँ ।’

‘यो खेलले महानगरपालिकाहरुका बिचको सम्बन्धलाई नजिक ल्याएको महसुस गरेको छु ।’ कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले भन्नुभयो, ‘प्राविधिक रुपमा पोखरा उपविजेता भएको छ । तर, हामीले जितेको महसुस गरेका छौँ ।’

सिंहलाई स्थानीय तहको अनुकरणीय नेताका रुपमा सम्झना गर्दै सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘सिंहको स्मृतिमा थालिएको यो टुर्नामेन्ट नियमित चल्नेछ । यसबाट खेलको विकासमा योगदान हुनेछ ।’ 

‘फ्लडलाइटमा खेल्ने क्रिकेट खेलाडीको सपना हो । हामीले त यो सपना देखेका मात्र थियौँ । आन्तरिक खेलमा काठमाडौँ महानगरपालिकाले यसलाई सम्भव बनाइदियो ।’ बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले भन्नुभयो, ‘यो टुर्नामेन्टले क्रिकेटको पहिचानलाई छुट्टै विशिष्ट स्थान प्रदान गरेको छ ।’

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी–२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशी पुरस्कार भएको खेल हो । यसका विजेता टीमले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर र वेष्ट वाट्स म्यानलाई जनही २१ हजार रुपियाँ, प्लेयर अफ द टुर्नामेन्टलाई ५१ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिनेछ । यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

खबरपाटी
खबरपाटी