काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले संस्थापक नेता रवि लामिछानेलाई निर्विरोध सभापतिमा चयन गर्दै पार्टीभित्र उनको नेतृत्वलाई औपचारिक वैधता दिएको छ। तीन दिनका लागि तय गरिएको महाधिवेशन नेतृत्व चयन प्रक्रिया लम्बिँदा करिब दोब्बर समय चले पनि अन्ततः पार्टीको शीर्ष नेतृत्वमा सर्वसम्मत सहमति जुटेको हो।
महाधिवेशनसँगै रास्वपाको संगठनात्मक संरचनामा पनि सभापतिको अधिकार थप बलियो बनेको छ। पार्टी विधानअनुसार सभापतिले केन्द्रीय समितिमा एकतिहाइ सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ भने १९ सदस्यीय पदाधिकारीमध्ये १२ जना मनोनयन गर्ने अधिकार पनि सभापतिमै रहनेछ।
महाधिवेशनअघि नै रवि लामिछानेलाई सभापति र प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताको भूमिकामा अघि सारिएको थियो। बाँकी पदका विषयमा केही असन्तुष्टि देखिए पनि प्रतिनिधिहरूले शीर्ष नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सहमतिको वातावरण बनाएका थिए।
रास्वपा स्थापना भएको चार वर्ष नपुग्दै पार्टीले राष्ट्रिय राजनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। संस्थापक सभापति रवि लामिछानेको राजनीतिक यात्रा भने उतारचढावले भरिएको रह्यो।
महाधिवेशन उद्घाटनका क्रममा लामिछानेले आफूले भोगेका हिरासत, कानुनी संघर्ष र राजनीतिक चुनौतीहरू सम्झँदै ती अनुभवले आफूलाई अझ दृढ बनाएको बताए। सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा हिरासत बस्नुपरेको अवस्थादेखि जनसमर्थनका बलमा पुनः राष्ट्रिय राजनीतिमा स्थापित भएको उनले उल्लेख गरे।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट विजयी भएका लामिछाने दुई पटक उपप्रधान तथा गृहमन्त्री बनेका थिए। नागरिकता विवादका कारण सांसद र मन्त्री पद गुमाएपछि भएको उपनिर्वाचनमा उनले अझ ठूलो मतान्तरसहित पुनः विजय हासिल गरेका थिए।
त्यसपछि सहकारी प्रकरणमा अनुसन्धान र हिरासतको सामना गर्नुपरे पनि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ। पार्टीले यही घटनाक्रमलाई जनसमर्थन बढाउने आधारका रूपमा प्रस्तुत गर्दै आएको छ।
थुनामुक्त भएपछि लामिछानेले वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्यको अभियान अघि बढाए। त्यसक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै विभिन्न साना राजनीतिक शक्तिहरूसँग एकता गरेका थिए।
त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गर्यो। नेपाली संसदीय इतिहासमै कुनै नयाँ दलले यति ठूलो सफलता हासिल गरेको यो पहिलो घटना बनेको दाबी रास्वपाले गर्दै आएको छ।
चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले रास्वपाले अब आन्दोलनको चरण पार गरेर संस्थागत राजनीतिमा प्रवेश गरेको सन्देश दिएको छ। निर्विरोध रूपमा सभापति चयन भएका रवि लामिछानेले संगठन विस्तार, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डालाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशनले पार्टीभित्र नेतृत्वमा निरन्तरता सुनिश्चित गर्दै आगामी राजनीतिक यात्रा थप सुदृढ बनाउने आधार तयार गरेको रास्वपाको निष्कर्ष छ।