चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ९९ पदका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको जानकारी दिए।
मतदान आज बिहान १० बजेसम्म जारी रहने उनको भनाइ छ। रास्वपा महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जनाले उम्मेदवारी दिएका थिए। ती मध्ये ३४५ जना मैदानमा छन्। मनोनयन दर्तामा कडा व्यवस्था राख्दा पनि यति धेरैको मनोनयन भएको छ।
केन्द्रीय सदस्यको मनोनयनका लागि १ प्रस्तावक र २१ जना समर्थक चाहिन्छ। २१ हजार शुल्क बुझाउनुपर्छ। यस्तो व्यवस्था गरिँदा पनि उम्मेदवारको संख्या यति धेरै भएको छ। रास्वपामा नेता बन्न ठूलै हानथाप देखिएको छ।
रास्वपाको विधानअनुसार सभापति र ९९ केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसकेका छन्। उता ९९ केन्द्रीय सदस्य (भूगोल ३५ र खुला ६४) जनाका लागि मतदान हुने व्यवस्था छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निश्चित नै छ।
पहिलो चरणमा निर्वाचन भएका ९९ जनाबाट पदाधिकारीको दोस्रो चरणमा निर्वाचन हुनेछ। १९ पदाधिकारीमध्ये मात्रै ८ जनाको निर्वाचन हुनेछ, जसमा सभापति निर्विरोध भइसकेकाले अब १ महिलासहित २ उपसभापति, १ महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुनेछ। १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्ताको मनोनयन सभापतिले गर्ने व्यवस्था छ।
वर्तमान विधानअनुसार रास्वपाको पदाधिकारीमा १ सभापति, ३ उपसभापति, २ महामन्त्री, ५ सहमहामन्त्री, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्ताको व्यवस्था छ।
विधानमा १ सय ५८ जना केन्द्रीय कमिटीको व्यवस्था छ, जसमा ७ जना प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुनेछन्। बाँकी १ सय ५१ मा ९९ जना निर्वाचनबाट आउने छन् भने ५१ जना सभापतिले मनोनित गर्ने छन्।