काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र आज बिहानदेखि शुरु हुँदैछ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचयपत्र वितरणपछि बन्द सत्र शुरु हुनेछ । उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्द सत्र हिजो शुरु हुन नसकेको बताउनुभयो ।
बन्द सत्र प्राविधिक कारणले ढिला भएको उहाँको भनाइ छ । सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
त्यसमा छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कवीन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन, विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ ।
अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो ।