जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ। नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद रिक्त भएको हो । निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएकोसम्बन्धी सूचना जारी गरेको छ।
सूचनाअनुसार कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष बुढालगायत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिकाको–३ का अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको निर्वाचन आयोगको सूचनामा जनाइएको छ।
अन्सारी र ढकाल पनि कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन्। आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम पदमुक्त भएको जनाएको छ।ऐनमा दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।