सुशासनका लागि आफ्नै नेतृत्वमाथि प्रश्न उठाउने संस्कार विकास गर्नुपर्छ : गगन थापा

सुशासनका लागि आफ्नै नेतृत्वमाथि प्रश्न उठाउने संस्कार विकास गर्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुशासनको अभियान सफल बनाउन आफ्नै नेतृत्वमाथि पनि प्रश्न उठाउने राजनीतिक संस्कार विकास गर्न आग्रह गरेका छन्।
चितवनमा जारी रास्वपाको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले आफू संलग्न राजनीतिक अभ्यासका कमजोरी स्विकार्दै सत्ता, गठबन्धन र भागबण्डाको राजनीतिले देशलाई अपेक्षित परिणाम दिन नसकेको बताएका हुन्।
“हिजो सत्ता आफू र आफ्नै परिवारका लागि चाहिने भनेर गल्ती गरेकै हौँ। त्यसका निम्ति गठबन्धन गर्ने र भागबण्डाको राजनीतिमा लाग्यौँ। सफा गर्ने कोसिस गर्‍यौँ तर सकिएन”‚ उनले भने।
भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि आफ्नै पार्टीभित्र सुधारको संघर्ष सुरु गरेको उल्लेख गर्दै थापाले बाहिरका विकृति हटाउनुभन्दा आफ्नै संगठनभित्रको समस्या समाधान गर्न झन् कठिन हुने अनुभव सुनाए।
“बाहिर लड्न सजिलो हुँदोरहेछ, भित्र लड्न गाह्रो हुँदोरहेछ। त्यहाँ नाता–सम्बन्ध हुन्छन्, माया हुन्छ तैपनि हामी लड्यौँ”‚  उनले भने।
रास्वपाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन नेतृत्वमाथि निरन्तर प्रश्न उठाउन सक्ने आन्तरिक लोकतन्त्र आवश्यक रहेको उनको भनाइ थियो।
“आफ्नो दलका नेतालाई भगवान् बनाएर गल्ती गर्‍यौँ। त्यसकारण गल्ती गरेको बेला आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। प्रश्न गर्ने आँट र साहस गर्नुहोला”‚ थापाले भने।
उनले रास्वपालाई नयाँ राजनीतिक शक्तिको रूपमा स्वागत गर्दै विगतको राजनीतिक संघर्ष र उपलब्धिको अवमूल्यन नगर्न पनि आग्रह गरे। लोकतन्त्र र राजनीतिक अधिकारका लागि हजारौँले बलिदान दिएको स्मरण गराउँदै थापाले इतिहासलाई अस्वीकार गरेर नयाँ राजनीति निर्माण हुन नसक्ने बताए।
“विगतलाई इनकार गर्दै गर्दा नीलो झन्डामुनि बसेर विगत खराब नभन्नुस्। ३५ वर्ष केही भएन नभन्नुस्”‚ उनले भने, “आज तपाईंहरू जहाँ उभिनुभएको छ, यही चितवनको माटोमुनि पञ्चायतले काटेर गाडेका पचासौँ जनाको लास छ।”
चितवनको माटो सहिदहरूको रगतले रङ्गिएको उल्लेख गर्दै उनले लोकतन्त्रका लागि भएका बलिदानको सम्मान गर्न आग्रह गरे।
“आज नीलो झन्डा फहराउँदै गर्दा चितवनको भुइँमा हेर्नुहोला, रातो छ। त्यो रातो सहिदको रगतले लागेको रातो हो। त्यसैले ती सहिद र जेनेरेसनहरूको रगतको अवमूल्यन नगर्नुहोला”‚ उनले भने।
थापाको सम्बोधनमा विगतका राजनीतिक दलहरूको आत्मालोचना, सुशासनका लागि आन्तरिक सुधारको आवश्यकता र लोकतान्त्रिक आन्दोलनका उपलब्धिको सम्मान गर्नुपर्ने सन्देश प्रमुख रूपमा देखिएको थियो। 

खबरपाटी
खबरपाटी