काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपाको मूल विचारधारा विकासवाद भएको भन्दै पार्टीलाई परम्परागत लेफ्ट–राइट राजनीतिक बहसभन्दा माथि उठेर मूल्यांकन गर्न आग्रह गरेका छन्।
चितवनमा जारी रास्वपाको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले रास्वपा विवाद र द्वन्द्व खोज्ने पार्टी नभएको तर राज्य सम्पत्तिको दोहन, भ्रष्टाचार र अनियमितताका विषयमा भने कडाइका साथ उभिने बताए।
“हाम्रो पार्टी विकासवादी हो। लेफ्ट राइट के हो भनेर चिन्ता लिइराख्नु पर्दैन”‚ उनले भने।
भ्रष्टाचार र अनियमितताविरुद्ध पार्टीको अडान स्पष्ट रहेको उल्लेख गर्दै शाहले आवश्यक परे अनुसन्धान निकायलाई पूर्ण स्वतन्त्रता दिएर छानबिन गर्नुपर्ने बताए।“निहुँ खोज्ने पार्टी रास्वपा होइन तर विगतमा राज्यका सम्पत्ति दोहन भएका छन्, फट्याइँ भएका छन् भने त्यस्ता ठाउँमा खोजिन्छ,” उनले भने, “यस्तो बेला हामीले अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्ष पनि थुनेर सोधपुछ गर्न दिन्छौँ।”
राष्ट्रियताको विषयमा आफू र पार्टीमाथि शंका नगर्न आग्रह गर्दै उनले सीमा र राष्ट्रिय हितसँग जोडिएका विषयमा दृढतापूर्वक काम गर्ने बताए।
“सीमाको विषयमा चिन्ता लिनुपर्दैन। सीमा प्रमाणमा देखाएर फिर्ता ल्याउँछौँ । मेरो राष्ट्रियताप्रति शंका मान्नु पर्दैन”‚ उनले भने।
महाधिवेशन प्रतिनिधिहरूलाई आन्तरिक गुटबन्दी र समूह निर्माणतर्फ नलाग्न सुझाव दिँदै शाहले राम्रो नेता बन्न संगठनभित्रको शक्ति प्रदर्शनभन्दा जनताको विश्वास जित्नु महत्त्वपूर्ण हुने बताए।
“राम्रा नेता बन्न समूहको होइन, जनताको माया जित्नुपर्छ। त्यसकारण महाधिवेशनमा समूह बनाउने काममा नलाग्नुस्”‚ उनले आग्रह गरे।
शाहले रास्वपाले जनतासामु गरेका प्रतिबद्धता यही कार्यकालमा पूरा गर्ने दाबी गर्दै आगामी निर्वाचनमा नयाँ उपलब्धि र नयाँ एजेन्डासहित मतदातामाझ जाने बताए।
“हामीले यसपटक जे एजेन्डा लिएर जनतामा गएर विश्वास जित्यौँ, त्यो काम यही कार्यकालमा गर्छौँ। अर्को चुनावमा अर्कै एजेन्डा लिएर जान्छौँ”‚ उनले भने।