काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ ।
पर्सि मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै चार हजार महाधिवेशन प्रतिनिधिसहित नेता/कार्यकर्ता सहभागी हुँदैछन् । २०७९ सालमा स्थापना भएको रास्वपाले गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । रास्वपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निक्कै चासोका साथ हेरिएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभयो ।
भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ । प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् ।
हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ । बन्द सत्र उद्योग सङ्घ चितवनको सभाहलमा हुनेछ । पहिलो महाधिवेशनले १९ पदाधिकारीसहित १५८ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो । महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्याएको जनाएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो ।