ललितपुर — जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रमका क्रममा अनुमति बिना ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै असार ६ गते ललितपुर महानगरपालिका–४, जावलाखेलमा आयोजना हुने श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि ७ बजेसम्म मानव रहित हवाई उपकरण (ड्रोन) सञ्चालनमा रोक लगाएको जनाएको हो।
सूचनाअनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयको पूर्वअनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन उडाउन पाउने छैनन्। प्रशासनले अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
भोटो जात्राको सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ। सर्वसाधारण तथा सम्बन्धित निकायलाई सूचनाको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।