काठमाडौं – संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज बस्ने बैठकका लागि सम्भावित कार्यसूचीमा बजेटसँग सम्बन्धित विधेयकहरू र विभिन्न महत्वपूर्ण अध्यादेशहरूमाथि छलफल तथा निर्णयार्थ प्रश्तुत गरिने कार्यक्रम रहेको छ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी, बैठकमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत वा अस्वीकृत गर्ने विषयमा छलफल हुनेछ। सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी माननीय खडकबहादुर बुढाले राख्नुभएको प्रश्ताव र सोही अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रधानमन्त्रीकातर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेशहरूमाथि पनि सदनमा छलफल हुनेछ। नीता घतानी, आरेन राई र कृपाराम रानाले क्रमशः यी अध्यादेशहरू अस्वीकार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री डा. वाग्ले, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र स्वास्थ्यमन्त्री निशा मेहताले ती अध्यादेशहरू स्वीकृतिका लागि प्रश्ताव प्रस्तुत गनैछन्।
आजै बस्ने राष्ट्रिय सभाको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको गृहमन्त्री सुधन गुरुङले उत्तर दिने कार्यसूची तय भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले थारु आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्। यस्तै, प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ र ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ स्वीकृत गरियोस् भनी प्रश्ताव प्रस्तुत गर्नेछन्।
राष्ट्रिय सभामा पनि अर्थमन्त्री डा. वाग्ले, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र स्वास्थ्य मन्त्री निशा मेहताले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशहरू स्वीकृतिका लागि प्रश्ताव गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरासमेत जानकारी गराइनेछ।