कक्षा १२ को नतिजा छिटो सार्वजनिक हुनु सुशासनको उदाहरण : प्रवक्ता पोखरेल

कक्षा १२ को नतिजा छिटो सार्वजनिक हुनु सुशासनको उदाहरण : प्रवक्ता पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल निकै चाँडो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोको स‌ज्ञा दिएका छन्।
 
शुक्रवार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पोखरेलले नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेण्डरमा सकारात्मक प्रभाव पार्ने दाबी गरे। उनले यो वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक गर्न सफल भएको जानकारी दिए।

‘यो केवल दिनको कटौती मात्र नभई सुशासनको एउटा बलियो उदाहरण हो। यसले अनावश्यक प्रशासनिक झमेलाहरूलाई हटाउँदा ४० दिनमै नतिजा ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ’, उनले भने,‘ यसबाट विश्वविद्यालयको भर्ना प्रक्रिया र शैक्षिक सत्र पनि समयमै शुरु हुने सुनिश्चितता भएको छ।’उनले विद्यार्थीको अमूल्य समय खेर जान नदिन र शैक्षिक निकायहरूको कार्यक्षमता अभिवृद्धि गर्न आगामी दिनमा पनि यस्तै कार्यदक्षता प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। पोखरेलले त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्य तालिका अगाडि नै शुरु गर्ने तयारी गरिसकेको दाबी गरे।

खबरपाटी
खबरपाटी