काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री र सभामुख दुवै संसद् र नागरिकप्रति जवाफदेही नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा साम्पाङले राष्ट्रियताविरोधी अभिव्यक्ति संसद्मा आएर सच्याउन आफूहरूले गरेको आग्रह प्रधानमन्त्री बालेन्द्र शाहले नसुनेको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन गरेको माग सभामुख डोलप्रसाद अर्यालले पनि नसुनेको आरोप लगाए।
‘हामीले १६ दिनदेखि प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्छ भनेर एकोहोरो रट लगाएको लगायै छौँ’, उनले भने, ‘तपाइँले पनि नसुन्ने उहाँले पनि नसुन्ने। कसैले कसैको कुरा नसुन्ने। ढुंगाहरूको देश हो या मान्छेहरूको देश हो अचम्म लागेको छ।’
उनले टाइ-सुट लगाउँदैमा, चिल्लो गाडीमा हिँड्दैमा मान्छे नहुने तर्क गरे। ‘मान्छे हुनका लागि नैतिकता चाहिन्छ’, उनले भने, जवाफदेिहता हुनु पर्छ। प्रधानमन्त्रीज्यूले आफ्नो भनाइ सच्याउनु पर्छ।’