काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारको तर्फबाट प्रतिनिधि भई कार्यरत रहेकी आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
आयोगले आइतबार जारी गरेको सूचनामा काठमाडौं महानगरपालिका–२ निवासी आरजु राणा देउवा (उमेर ६५ वर्ष) लाई राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीमाथिको अनुसन्धानका क्रममा बयान लिन आवश्यक परेको उल्लेख गरिएको छ।
आयोगका अनुसार उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा देउवासँग बयान लिनुपर्ने भएकाले सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित हुन भनिएको छ।
सूचनामा आयोगको महाशाखा नं. १२, कोठा नं. १२, टंगाल, काठमाडौंमा उपस्थित हुन आग्रह गरिएको छ। तोकिएको अवधिमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
अख्तियारले उक्त सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १४ बमोजिम जारी गरेको जनाएको छ। सूचना २०८३ असार २ गते प्रकाशित गरिएको हो।