नयाँ सवारी दर्ता रोकिँदा व्यवसायी मारमा : सांसद कार्की

नयाँ सवारी दर्ता रोकिँदा व्यवसायी मारमा : सांसद कार्की

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातायात व्यवसायी समस्यामा परेको बताएका छन्। 

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा सांसद कार्कीले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। उनले पुराना सवारी विस्थापन गर्नुपर्ने समयमा नयाँ दर्ता रोकिएर राखेको आरोप लगाए। उनले तत्काल नयाँ सवारी दर्ता खोल्न सरकारसँग माग गरे। उनले यातयात मन्त्रालय हटाएकोमा पनि असन्तुष्टि जनाए। 

संघीय सरकारमा छुट्टै यातायात मन्त्रालय नहुँदा नीति निर्माण र कार्यान्वयनमा अन्योल सिर्जना भएको उनको भनाइ छ।  ‘अब नयाँ दर्ता रोकिएको छ। यातायात व्यवसायीहरूको मुख्य सिजन दशैँ हो, धमाधम चेसिस ल्याएर बडी बनाउने वेला छ। यही बेला दर्ता रोकिएको छ। यो वेला रोकिएको दर्ताले कसरी व्यवसायीलाई सहज हुन्छ? पुराना गाडी फेर्नुपर्छ’, उनले भने, ‘नयाँ गाडीको दर्ता रोक्दिने अनि पुराना फ्याकिनुपर्ने गाडीहरू चलाउनुपर्ने? अनि भोलि दुर्घटना भयो भन्ने? पुराना गाडीले दुर्घटना निम्त्याउँछ। मर्मत गर्न भ्याएको हुन्न, बाटोमा कहाँ जान्छ ब्रेक लाग्दैन कि गियर फेल हुन्छ। त्यो कति बेर के हुन्छ, थाहा हुन्न।’

सांसद कार्कीले दुर्घटना बीमा प्रणालीमा पनि समस्या रहेको दाबी गरे। गम्भीर घाइतेको उपचार खर्च करोडौँ रुपैयाँसम्म पुग्ने तर बीमाबाट सीमित रकम मात्रै प्राप्त हुने अवस्था रहेको उनले बताए। यस्तो अवस्थामा व्यवसायीले व्यक्तिगत सम्पत्ति बेच्नुपर्ने बाध्यताभएको उनको भनाइ छ। 

खबरपाटी
खबरपाटी