काठमाडौं - फिफा विश्वकप २०२६ मा इरान न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।
लस एन्जलस स्टेडियममा भएको खेलामा इरानले दुई पटक पछाडि रहेको स्थितिबाट खेलमा फर्कदै बराबरीमा ल्याएको हो। यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह जी को शीर्ष दुई स्थानमा रहे। यसै समूहमा बेल्जियम र इजिप्ट पनि समान एक एक अंकमा छन्।
न्युजिल्यान्डका लागि इजिल जस्टले दुई गोल गरे। न्युजिल्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो र यसक्रममा जस्टले गोलको खाता खोले। उनले त्यसका लागि इरानी पेनाल्टी एरियामा सबैभन्दा पहिले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिए र त्यसलाई पोस्टको दिशा दिए।
इरान ३२ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो। न्युजिल्यान्डको पेनाल्टी एरियामा पाएको बलमा रमनी रेजाइनले चलाखीपूर्ण गोल गरे। त्यस अगाडि इरानका मेहदी तारेमीले २४ औं मिनेटमा गरेको प्रहार न्युजिल्यान्डको पोस्टमा लागेको थियो। जस्टले ५४ औं मिनेटमा न्युजिल्यान्डका लागि दोस्रो गोल गरे।
मैदानको मध्य भागबाट सुरु भएको आक्रमणलाई उनले सुन्दर गोलमा परिणत गरे। यसै क्रममा उनी विश्वकप इतिहासको एकै खेलमा दुई गोल गर्ने न्युजिल्यान्डका पहिलो खेलाडी पनि भए।
तर, त्यो अग्रता पनि लामो समय टिकेन् र इरानले खेलको ६३ औं मिनेटमा फेरि बराबरी गोल फर्काउन सफल रह्यो । अनमार्क रहेका मोहम्मद मोहेबीले सजिलै हेडिङबाट गोल गरे।