एल निनोको प्रभावले नेपालमा मनसुन ढिलो, यस वर्ष वर्षा पनि कमजोर हुन सक्ने अनुमान

एल निनोको प्रभावले नेपालमा मनसुन ढिलो, यस वर्ष वर्षा पनि कमजोर हुन सक्ने अनुमान

काठमाडौं – नेपालमा यस वर्ष मनसुनको आगमन सामान्यभन्दा केही ढिलो हुने संकेत देखिएको छ। सामान्यतया जुन १३ तारिख आसपास नेपालमा मनसुन भित्रिने गरे पनि यस वर्ष हालसम्म मनसुनी प्रणाली प्रवेश नगरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आइतबार जारी गरेको विज्ञप्तिमा भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरेको छ।

विभागका अनुसार प्रशान्त महासागर क्षेत्रमा विकसित भएको ‘एल निनो’ प्रणाली क्रमशः बलियो बन्दै गएको छ, जसको प्रभाव दक्षिण एसियाली मनसुन प्रणालीमा समेत पर्ने देखिएको छ। एल निनो सक्रिय हुँदा मनसुन ढिलो सुरु हुने र वर्षाको मात्रा औसतभन्दा कम हुन सक्ने सम्भावना रहने मौसमविद्हरूले बताएका छन्।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगतमा पनि एल निनो प्रभावका बेला नेपालमा मनसुन ढिलो प्रवेश गरेको तथ्यांक रहेको छ। कतिपय वर्षमा जुन महिनाको अन्तिम साता मात्र मनसुन भित्रिएको रेकर्ड समेत छ।

यद्यपि हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा चितवनमा ५२ मिलिमिटर र सुनसरीमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सबैभन्दा धेरै हो।

उता, मनसुन ढिलो हुँदा तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना पनि रहेको छ। विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भोलिसम्म तातो दिन रहने अनुमान गरेको छ।आज कोशी प्रदेशको तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

खबरपाटी
खबरपाटी