काठमाडौं - लियोनेल मेसी र अर्जेन्टिना छ दशकपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ।
सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप उपाधि जितेपछि कुनै पनि राष्ट्रले विश्वकप उपाधि रक्षा गर्न सकेको छैन। यस अभियानलाई सफल बनाउने उसले समूह ‘जे’ मा मङ्गलबार पहिलो खेल अल्जेरियाविरुद्ध खेल्ने छ। अल्जेरिया लामो समयपछि विश्वकपमा पुनरागमन जनाएको टिम हो।
अर्जेन्टिना सानदार लयमा पनि छ। दक्षिण अमेरिकी समूहमा शीर्ष स्थान हासिल गरी अर्जेन्टिनाले १५ महिनाअघि नै विश्वकपमा स्थान बनाएको थियो। अफ्रिकाको प्रतिनिधित्व गर्ने अल्जेरियाले सन् २०१४ पछि विश्वकपमा पुनरागमन गर्दै छ।
लामो समय विश्वकपमा अनुपस्थित भए पनि अल्जेरिया दुई पटकको अफ्रिकी च्याम्पियन हो। उसले सन् १९९० र २०१९ मा अफ्रिकी नेसन्स कप जितेको थियो। पछिल्लो पटक विश्वकप खेल्दा अल्जेरियाले अन्तिम १६ सम्मको यात्रा गरेको थियो। विश्वकप छनोटमा अल्जेरियाको प्रदर्शन राम्रो रह्यो। उसले १० खेलमध्ये आठ जित, एक बराबरी र एक हारमा खेलेको थियो।
त्यसैले अर्जेन्टिनाले अल्जेरियालाई हलुका रूपमा नलिने पक्का छ। अझ पछिल्लो संस्करणमा पहिलो खेलमै साउदी अरबसँग स्तब्धकारी हार बेहोरेकाले पनि अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्दा सतर्कता अपनाउने छ।
अल्जेरियाविरुद्ध खेलेर ३८ वर्षीय मेसीले छैटौँ पटक विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनेछन् तर प्रशिक्षक लियोनेल स्कालोनीसमक्ष चोटको केही चुनौती छ।
लेफ्ट ब्याक निकोलस ताग्लियाफीको, सेन्टर ब्याक फाकुन्डो मेडिना र गोलरक्षक इमिलियानो मार्टिनेज पूर्ण रूपमा दुरुस्त हुनुहुन्न। अल्जेरिया सानदार लयमा रहेको छ।
विश्वकप आउनुअघि अल्जेरिया चार खेलमा अपराजित छ। यस क्रममा उसले नेदरल्यान्ड्सलाई १–० र बोलिभियालाई ४–० ले हराएको थियो भने दुई पटकको विश्वकप विजेता उरुग्वेसँग बराबरीमा खेलेको थियो तर मेसीले अर्जेन्टिनालाई हराउन अल्जेरिया मात्र होइन सबै टिमलाई धेरै कठिन हुने बताएका छन्।
फ्रान्स–सेनेगल
यसपालि च्याम्पियन बनेर फ्रान्स तीन तथा सोभन्दा बढी विश्वकप उपाधि जित्ने पाँचौँ राष्ट्र बन्न चाहन्छ। अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार तथा अर्जेन्टिनाले तीन पटक विश्वकपको उपाधि जितेका छन्।
विश्वकपअघि भएका तयारी खेलमा फ्रान्सले ब्राजिललाई २–१ र कोलम्बियालाई ३–१ ले हराएर आफ्नो टिम लयमा रहेको पनि देखाइसकेको छ। यसपालि सेनेगलविरुद्ध खेलेर फ्रान्सले सुरुवात गर्दै छ। सेनेगलविरुद्ध खेल्दा फ्रान्सलाई सन् २००२ को विश्वकपको पहिलो खेलमा बेहोरको हारले तर्साउन सक्छ।
सो समय पहिलो पटक विश्वकपमा आएको सेनेगलले उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई १–० ले हराएर स्तब्धकारी नतिजा निकालेको थियो। त्यसपछि सेनेगलले विश्व फुटबलमा धेरै प्रगति गरिसकेको छ। सेनेगल लगातार तेस्रो पटक विश्वकपमा खेल्दै छ। यस विश्वकपअघि सेनेगल अफ्रिकी कप अफ नेसन्स–२०२५ को उपाधि जितेको थियो।
यस पटकको विश्वकपमा सेनेगलका स्ट्राइकर साडियो माने हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ। सेनेगलका लागि ५३ गोल गरिसकेका मानेले छनोट चरणमा पाँच गोल गरेका थिए।
फ्रान्सेली टिममा यसपालि पनि विश्वस्तरीय फुटबलरको बाहुल्य छ। किलियन एम्बापे, ह्युगो इकिटिके, ओसमान डेम्बेले, माइकल ओलिस जस्ता खेलाडीको उपस्थितिमा फ्रान्सलाई उपाधिकै प्रबल दाबेदार मानिएको छ।
पछिल्लो विश्वकपमा एम्बापेले आठ गोल गरेर सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुट जित्नुभएको थियो। अर्जेन्टिनाविरुद्धको फाइनलमा एम्बापेले ह्याट्रिक पनि गर्नुभयो। पछिल्लो विश्वकपमा फ्रान्स फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा हारेपछि निराश बनेको थियो। अहिले फ्रान्सको प्रमुख चिन्ता भनेको कप्तान एम्बापेलाई लिएर भइरहेको आलोचना नै हो। उहाँको हाल केही खस्केको प्रदर्शन, नेतृत्व र मैदानबाहिरको व्यवहारलाई लिएर अहिले ठुलो चर्चा हुने गर्दछ।
अस्ट्रिया–जोर्डन
२८ वर्षपछि खेल्न लागेको विश्वकपमा अस्ट्रियाले समूह चरण पार गर्ने लक्ष्य लिएको छ। यस समूहमा अर्जेन्टिना र अल्जेरिया पनि रहेकाले यस अभियानलाई सफल बनाउन उसले पहिलो खेलमा नवप्रवेशी जोर्डनलाई हराउनैपर्ने बाध्यता छ। युरो २०२४ मा नकआउट चरणसम्मको यात्राले पनि अस्ट्रियाको मनोबल उच्च छ। विगतमा अस्ट्रिया फुटबलको शक्ति राष्ट्र नै थियो। अस्ट्रियाले सन् १९५४ को विश्वकपमा सेमिफाइनल र सन् १९७८ को विश्वकपमा अन्तिम आठसम्मको यात्रा तय गरेको थियो।
यसै गरी सन् २०२३ मा एसियाकप र सन् २०२५ मा अरबकपको फाइनल्स खेलेको टिम जोर्डन विश्वकपमा पनि आफ्नो छाप छोड्ने दाउमा छ तर वार्मअप खेलमा स्विट्जरल्यान्डसँग ४–१ र कोलम्बियासँग २–० ले हारेकाले जोर्डनले अस्ट्रियाविरुद्धको खेल जित्न शतप्रतिशत प्रदर्शन गर्नुपर्ने हुन्छ।
नर्वे–इराक
नर्वेले झन्डै तीन दशकपछि विश्वकप फुटबल प्रतियोगितामा पुनरागमन गर्दै छ। समूह ‘आई’ मा रहेको नर्वेले आफ्नो पहिलो खेलमा इराकको सामना गर्ने छ। गोल मेसिन इर्लिङ हालान्ड रहेकाले पनि नर्वेलाई हेर्नलायक टिमका रूपमा हेरिएको छ।
सेन्टर फरवार्ड हालान्डले विश्वकप छनोटमा १६ र प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका लागि २७ गोल गर्नुभएको छ। सो टिममा आर्सनलका प्लेमेकर मार्टिन ओडिगार्ड र विन्गर एन्टोनियो नुसा र ओस्कार बब पनि हुनुहुन्छ। इराक पनि ४० वर्षपछि विश्वकपमा फर्केको हो।