काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेकी छिन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लामाले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको पछिल्लो अभिव्यक्तिले देशको हित नगर्ने जिकिर गरिन्। उनले त्यो अभिव्यक्ति त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने माग राखिन्।
‘प्रधानमन्त्रीज्यूले सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको अभिव्यक्ति देशको अहित र विरुद्धमा छ। सो अभिव्यक्तिलाई सदनमा आएर सच्याउन म आग्रह गर्दछु’, उनले भनिन्, ‘साथै, उक्त भनाइलाई सदनको अभिलेखबाट तत्काल हटाइयोस् भन्ने जोडदार माग गर्दछु।’सांसद लामाले राष्ट्रिय सार्वभौमिकता र भूमिसँग जोडिएका विषयमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले विवादास्पद अभिव्यक्ति दिन नहुने भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गरिन्।