काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन्।
आइतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताए।
उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे। उनले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताए। मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उनको दाबी छ।
मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको उनको भनाइ छ।