मध्यपूर्वी तनावले रोकिएको नागढुंगा–मलेखु सडकको पिच कार्य अगाडि बढ्यो

मध्यपूर्वी तनावले रोकिएको नागढुंगा–मलेखु सडकको पिच कार्य अगाडि बढ्यो

काठमाडौं - राजधानी प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्डअन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः सुरु भएको छ।मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सडक निर्माण व्यवसायी सहदेव खड्काकाअनुसार बिटुमिनको अभावका कारण केही समय ठप्प प्रायः बनेको सडकको काम आयातमा भएको सामान्य सुधारसँगै पुनः सञ्चालनमा ल्याइएको हो।

हाल अत्यन्तै संवेदनशील र सवारी चाप बढी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ। यद्यपि लामो समयको प्रतिक्षापछि कच्चा पदार्थ उपलब्ध भएपनि प्रतिकूल मौसम (वर्षा)का कारण कामलाई सोचेजस्तो गति दिन कठिनाइ भइरहेको व्यवसायी खड्काले बताए। यो सडकखण्ड संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। 

दैनिक हजारौँ सवारी साधन गुड्ने यस सडकमा कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। मध्यपूर्वी देशहरूमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र बिटुमिन जस्ता निर्माण सामग्रीको विश्वव्यापी आपूर्ति श्रृङ्खला खलबलिँदा नेपालका धेरै विकास निर्माणका आयोजनाहरू प्रत्यक्ष मारमा परेका छन्। धार्के बजार क्षेत्रमा पुल र सडक कालोपत्रेको कामले गति लिएसँगै स्थानीय व्यवसायी र सर्वसाधारणले केही राहत महशुस गरेका छन्। 

खबरपाटी
खबरपाटी