दुई संसदीय समितिहरूको बैठक आज बस्दै

दुई संसदीय समितिहरूको बैठक आज बस्दै

काठमाडौं - संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका दुई संसदीय समितिहरूको बैठक आज बस्दैछ। 

आज बस्ने बैठकहरूमा मुलुकको हवाई सुरक्षा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालन र बेरुजु न्युनिकरण जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपालको हवाई उड्डयन क्षेत्रलाई युरोपियन युनियन (ईयू)को उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउनका लागि भइरहेका प्रयासहरूबारे छलफल हुनेछ। 

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले यस सम्बन्धमा गरेका तयारी तथा प्रगतिबारे जानकारी लिइनेछ। साथै, त्रिभूवन, पोखरा र भैरहवा गरी तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान सञ्चालन अवस्था र सुधारका पक्षहरूमा समेत समितिले सरोकारवालाहरूसँग विमर्श गर्ने जनाइएको छ। 

त्यसैगरी, सार्वजनिक लेखा समितिले आज बेरुजु न्युनिकरणका विषयमा केन्द्रित रहेर छलफल गर्दैछ। बैठकमा विभिन्न निकायका लेखा उत्तरदायी अधिकृतहरूलाई आमन्त्रण गरिएको छ। पछिल्लो समय सरकारी निकायहरूमा बेरुजुको मात्रा बढ्दै गएकाले त्यसलाई कम गर्ने उपाय र जिम्मेवार अधिकारीहरूको उत्तरदायित्वका सम्बन्धमा समितिले आवश्यक निर्देशन दिने सम्भावना छ।

खबरपाटी
खबरपाटी