काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई आसन्न चीन भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा स्पष्ट धारणा राख्न आग्रह गरेकी छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले सीमा समस्याको विषय प्रभावकारी रूपमा नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले चीन भ्रमणका बेला भने सीमा सम्बन्धी विषयलाई स्पष्ट र प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्।
ओलीले परराष्ट्रमन्त्रीले संसद्मा समेत सीमा समस्या नभई ‘सीमा व्यवस्थापन’ को विषय रहेको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले विषयको गम्भीरतालाई पर्याप्त रूपमा नबुझेको संकेत गरेको टिप्पणी गरिन्। सीमा व्यवस्थापन र सीमा विवादका विषयमा सांसदहरूले समेत पर्याप्त अध्ययन गरी स्पष्ट धारणा बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउँदै छिमेकी मुलुकहरूसँग कूटनीतिक संवादमार्फत यी मुद्दाहरू उठाउनुपर्नेमा जोड दिइन्।
प्रमुख सचेतक ओलीले राष्ट्रिय हितसँग जोडिएका सीमा सम्बन्धी विषयमा सरकार संवेदनशील र स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याइन्।