स्वास्थ्य–शिक्षामाथि कर लगाएर संविधानको भावना विपरीत बजेट आएको : अमरेश सिंह

स्वास्थ्य–शिक्षामाथि कर लगाएर संविधानको भावना विपरीत बजेट आएको : अमरेश सिंह

काठमाडौँ – रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले संविधानले नागरिकलाई दिएको स्वास्थ्य र शिक्षाको हकमाथि कर थोपरेको भन्दै अर्थमन्त्रीप्रति  असन्तुष्टि जनाएका छन्। प्रतिनिभिसभामा बजेटमाथिको छलफलमा सिंहले बजेटले गरिब जनतालाई नछोएको टिप्पणी गरेका हुन् ।

उनले बूढानीलकण्ठ विद्यालयमा पढेका अर्थमन्त्रीले संविधानले दिएको स्वास्थ्य र शिक्षाको हक पाउने नागरिकमाथि कर थोपरेको भन्दै आपत्ति जनाए। उनले सामुदायिक विद्यालयलाई मजबुत पार्न ध्यान नपुगको भन्दै सरकारको आलोचना गरे।

‘संविधानमा शिक्षा मौलिक अधिकार हो, त्यसैले मौलिक अधिकारमा ट्याक्स लगाउन पाइँदैन। त्यो ट्याक्स विद्यालयमाथि मात्र लागेको छैन’, उनले भने ‘प्राइभेट विद्यालय वा प्राइभेट अस्पतालका माध्यमबाट त्यहाँ पढ्ने विद्यार्थीमाथि लगाइएको छ। पहिले सार्वजनिक विद्यालय मजबुत पारौँ न, तर त्यसतर्फ कतै पनि पाइला चालिएको देखिएन।’

उनले कर्मचारीका तलब २१ प्रतिशतले बढे पनि आम नागरिकलाई महँगीबाट बचाउने  कार्यक्रम नल्याएको बताए। उनले किसानलाई उत्पादनको मूल्य दिने कार्यक्रम पनि बजेटमा कतै नदेखेको प्रतिक्रिया दिए।

‘पीडा यो पनि छ कि मेरो क्षेत्र किसान र गरिबहरूको मात्र क्षेत्र हो। त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन। त्यहाँ खेतमा किसानले ५ रुपैयाँमा तरकारी फलाएर बेच्छ, तर त्यही तरकारी काठमाडौँका उपभोक्ताले प्रतिकिलो ५० रुपैयाँमा पाउँछन्’, उनले भने, ‘त्यो किसानले कसरी कम्तीमा २० देखि ३० रुपैयाँसम्म पाउने भन्ने व्यवस्था यो बजेटमा कतै देखिएन।’

 

 

खबरपाटी
खबरपाटी