आज सातै प्रदेशमा वर्षाको सम्भावना

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं - देशका केही स्थानमा आज वर्षाको सम्भावना छ। मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको पूर्वानुमान छ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ।

केही दिन अघिदेखिको लगातार तातो दिनको पूर्वानुमान गर्दै आएको विभागले आज भने तातो हावाको लहरको चेतावनी दिएको छैन। धेरै ठाउँमा वर्षाको पूर्वानुमान गरेको छ। 

आगामी दुई दिन लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो १० घण्टादेखि लागिरहेको विज्ञहरुले प्रष्ट पारेका छन्। 

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ।

खबरपाटी
खबरपाटी