काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन देशको प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
राष्ट्रियसभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री साहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाई प्रधानमन्त्रीले आमनागरिकसमक्ष माफी माग्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए। सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो भन्दै प्रश्न गरे।
सुवेदीले भने, ‘बालेन साहजस्ता व्यक्ति प्रधानमन्त्री हुनु ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? जानकारी गराउनुपर्छ। हाम्रा पुर्खाले रगत बगाएर बनेको देश हो। राष्ट्र र राष्ट्रियतामाथि धावा बोल्न पाइँदैन।’
देशको निर्माण पुर्खाको बलिदान र संघर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए।