काठमाडौं - सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले विभिन्न अपाङ्गमैत्री सुविधाहरू समावेश गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि विभागका अनुसार वेबसाइटमा राखिएको ‘स्किप नेभिगेसन’ सुविधाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य सामग्रीमा पुग्न मद्दत गर्छ। त्यस्तै, महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा ‘अल्ट टेक्स्ट’ राखिएकाले दृष्टिविहीन प्रयोगकर्ताले पनि सामग्रीको आशय बुझ्न सक्नेछन्।
विभागका अनुसार फाराम भर्दा देखिने त्रुटि सन्देश (इरर म्यासेज) र आवश्यक सुझावहरू सजिलै सुन्न र बुझ्न सकिने गरी वेबसाइट तयार गरिएको छ। सर्च तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रमा स्पष्ट नाम र संकेत राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई जानकारी प्राप्त गर्न सहज हुने बताइएको छ।
यसका साथै, किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन भागमा रहेको छ भन्ने जानकारी स्पष्ट रूपमा पाउन सक्ने व्यवस्था पनि गरिएको छ।
यसअघि गत वैशाखमा विभागले अपाङ्गमैत्री सुविधासहित सञ्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको अद्यावधिक सम्बन्धी तालिम सञ्चालन गरेको थियो। उक्त तालिम विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको विभागले जनाएको छ।