काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी संसद अवरोध अन्त्य गर्ने संकेत गरेको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिमै केन्द्रित भएर संसदलाई लामो समयसम्म अवरुद्ध राख्न नहुने बताएका हुन्।
संसदको रोष्ट्रमबाट सम्बोधन गर्दै उनले संसद प्रधानमन्त्रीलाई आवश्यक नलागे पनि प्रतिपक्षका लागि भने महत्वपूर्ण रहेको टिप्पणी गरे।
आङ्देम्बेले भने, “प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ। त्यसैले अब म उहाँलाई खोज्न चाहन्नँ। मेरो मुलुकका सवालहरू उहाँको उपस्थितिभन्दा पनि ठूला छन्। प्रधानमन्त्रीले बोलेका कुरामै अल्झिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुँदैन।”
उनको भनाइलाई संसदको नियमित कार्यसूची अघि बढाउनेतर्फ कांग्रेस सकारात्मक देखिएको संकेतका रूपमा हेरिएको छ। कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद अवरोध गर्दै आएको थियो।