बर्डफ्लु नियन्त्रणमा सरकारको आकस्मिक अभियान : ५ लाखभन्दा बढी पन्छी नष्ट, उपत्यका उच्च जोखिममा

बर्डफ्लु नियन्त्रणमा सरकारको आकस्मिक अभियान : ५ लाखभन्दा बढी पन्छी नष्ट, उपत्यका उच्च जोखिममा

काठमाडौँ – देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि सरकारले आकस्मिक अभियान सञ्चालन गरेको छ। रोग प्रभावित क्षेत्रमा सङ्क्रमण रोक्न र अन्यत्र फैलिन नदिन व्यापक रूपमा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गर्ने काम भइरहेको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म बर्डफ्लु पुष्टि भएका १० जिल्लाका ७२ वटा फार्ममा करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएका छन्। सबैभन्दा बढी सङ्क्रमण लेयर्स तथा स्थानीय जातका कुखुरामा देखिएको छ।

सरकारको निर्देशनमा परिचालित ‘द्रुत कार्य टोली’ले ७ लाख अण्डा र १८३ टन दाना समेत नष्ट गरेको छ। केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको सङ्क्रमण महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर र ललितपुरसम्म फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि बर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ।

महानिर्देशक दाहालका अनुसार अहिले काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। यद्यपि चितवनसहित केही जिल्लामा भने अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको बताइएको छ।

सङ्क्रमण पुनः फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्र व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार रोग नियन्त्रणका क्रममा पन्छी तथा सामग्री नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइने प्रावधान छ। राहत रकम जिल्लाअनुसार फरक हुन सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवाला निकायको बैठकले लागत मूल्य निर्धारण गर्ने विभागले जनाएको छ।

खबरपाटी
खबरपाटी